म खोज्दैछु
![]() |
| Source:www.googleblog.blogspot.com |
सधैजसोको भीष्म प्रतिज्ञा तोडि
गर्छु भनेको र गर्नुपर्ने काम राख्दै थाती
आजको यो दिन पनि त्यसै बित्यो साथी
अनि, गुनगुनायो एकाएक मन शान्त मध्यराति
--- " गर्छु अब जे जसो भएपनि गर्छु "
गर्छु अहिले, इच्छा र मन टाढिएपनि
गर्छु साहस आटिँलो म नभएतापनी --
- कर्तव्य र कर्मको सुस्त अनि लगभग शून्य गति
मिहिनेत र परिश्रम गर्ने मन चोरिभएको बेथिति
विशाल सपनाहरु सूक्ष्म, क्षुद्र भइ विलिन हुने स्थिति
सक्षम, सबल भएपनी सार्थकताको परीक्षामा अनुत्तीर्ण भएको मिति
-- पर्खीरहेको छु जस्तो लाग्छ आफैँलाई
जीवन जिउने क्रममा रुमलिएजस्तो लाग्छ
...... आफैँलाई
" जीवनरुपि सागरमा तैरिन सिक्दैछु म "
भविष्यको क्यान्भासमा केही कोर्न खोज्दैछु म
कोसौको लामो दुरि छिचोल्न खोज्दैछु म
थाहा छैन गगनको पता, तर पनि एकदिन अवश्य पुग्ने आशामा,
पाइला चाल्दैछु म
स्वर्ग त्यहीँ अवस्थित छ रे
स्वर्गावलोकन गर्न जादैछु म
भगवनको थलो त्यही हो रे
भगवन् भेट्न जादैछु म
भविष्य कोर्ने कलाकारको वासस्थान पनि त्यही पर्छ रे
अरनिको हुन् कि तिनी
या हुन् दाभिन्सी
या त मिसेल्याङ्गो
पारख गर्न जादैछु म
महामानवको वस्ती हो रे
महान् ती भेट्न जादैछु म
के मिले के नमिलेको जस्तो
पढ्छु तर नबुझेको जस्तो
लेखाइ शुद्ध तर अझै अमिल्दो देख्छु म
बोलाइ स्पष्टता छ तापनि लरबरिन्छु म ।
.....हो आजकाल यिनै जन्तुहरुको अखडा छु म
भयवित होइन बरु मुग्ली भएको छु म
शिकारी होइन सिकारु भएको छु म
बन्द कोठाबाट निस्कि जीवनको बोधगया पुग्न खोज्दैछु म
कुहिरो हटि सुन्दर गिरिको नजारा देख्दैछु म ।
जीवनका अनेकन भूलभूलैया चिन्न अनि फड्किन सिक्दैछु
बिस्तारै हरेक गुनगुनाहटमा यथार्थता केलाउन अब म खोज्दैछु
प्रगाढ सम्बन्ध भएको भूतपूर्व साथीसँग,
मलाई लाग्छ, दुबैलाई हितकारी हुनेगरी सम्बन्ध-बिच्छेद गर्न खोज्दैछु म
माफ गर मित्र एउटा छुट्टै जीवन जिउन खोज्दैछु म
मेरो र तिम्रो भलाइका लागि ।

Comments
Post a Comment