अब चाहिँ घर पक्कै बन्ने भो।
"भूकम्प पश्चातको बसाई कहिले त्यो पहिलाको बसाई हुन सकेको छैन। एक न एक आवश्यकताले सधै भौतारिनु पर्ने अनि फिरन्ते भै फिरि लगाउने जोगि झै वरपर डुल्दा डुल्दै जीवन केवल विचरणमा व्यथित हुने आशंका लाग्छ",भन्छन् रामबहादुर तामाङ। एकातिर जुम्ल्याहा सन्तान गुमाएको शोकबाट अझै व्युतिन नसकेकी राममायालाई समहाल्नुछ भने अर्कोतिर कुम्भकर्न निन्द्राबाट नब्युझिएको घरलाई उठाउनु पनि।बर्खा आउनु अगावै भरपर्दो ओतको चाजोपाजो मिलाउनुछ, बर्खा लग्ने बित्तिकै गैरी खेतमा धानका बाला झुलाउनुछ, बर्खा आउने बित्तिकै केटकेटिलाई ... केही पनि छैन। सम्पूर्णलाई समाल्न खोज्ने रामबहादुरलाई समाल्ने भने कोहि भएन । चाहेर पनि कलिला कोपिलाहरुलाई बिर्सनसकेका छैनन् उनले र बिर्सुन पनि कसरी ? सानैदेखि हातका औंला समाइ घरखेत चहारेको पनि हिजोअस्ती त होनि, हिजो त होनि। दैव पनि कति निष्ठुरी ती कलिला कोपिलामा नै आँखा गाड्नुपर्ने र बेलै नभइ टपक्क टिप्नुपर्ने ।
"गाविस र अरु संघसंस्थाको राहत पनि लगभग सकिन लाग्यो । त्यसमाथि देश नै कैयौं महिना नाकाबन्दीमा परेको थियो रे ? सरकार परिवर्तन भएको छ रे ? कठैबरा ! राहत त देशलाई आवश्यक छ आजकाल", उनी थपछन्। "पालको भरोसाको जीवन बेलाबखतमा हावाहुरी चल्दा आफुमाथि पनि दैवकृपा पर्नलागेको जस्तो लाग्छ । यो पालमा बस्दाबस्दै वसन्त फेरि भेट्न आइसक्यो, स्वागतका लागि केही गर्न सकिएन । अब त जीवन पालभरोसा होला जस्तो छ, एउटा टाउको लुकाउने छत भताभुङ छ अर्को ओत पनि लगभग उस्तै हालतमा। सहयोग जुटाउ भने आफ्ना सखा सबै परदेश छन् र फर्किआउनेहरु पनि अस्ति बाकसमा पो आए रे। गाउँमा शोकसन्तप्त आमासमुह, स्यारसुसार गर्नुपर्ने जेष्ठ नागरिक र भाग्यले बचेको केही बचेरा बाहेक अरु शून्यता छ।कताकता सहुलियतमा ऋण दिने खासखुस पनि चलेको थियो, हिजोअस्तिको हावाहुरिलेले खै कता उडायो कुन्नि", उनी आफ्ना वेदना यसरी पोख्दछ्न्।
कुराकानी गर्दैको बखतमा तल लेकबाट कमिलाको ताती झै धेरैको संख्यामा मान्छेहरु स्यास्या र फ्याफ्या गर्दै उकाली चड्दै गरेको देखियो। केही समयको अन्तराल पछि ताती हाम्रो सेरोफेरोमा आइपुग्यो।एकोहोरो भएर हेरिरहेका रामबहादुरलाई देखेर मैले पनि त्यता नजर घुमाएको मात्र के थिए रामबहादुरले भने," ए, यी त हाम्रा सभासद पो रैछ्न्। निकै मान्छे छन् त, फेरि भोट माग्ने बेला भैसक्यो र बाबु ।" उनलाई हेर्दै अनुहारमा फुङ उडेको हाँसो ल्याए र उनको प्रतिकृयामा पनि लगभग त्यसतै थियो।केहिसमय पछि सबैजनाको जमघट भयो र सबै थकाइ मार्न बसे।एकछिनको आराम पछि सबै सलबलाउन थाले।ताती अवलोकन गरिरहेको गाउँलेगण पनि त्यहाँ जम्मा भयो।
सदाको सुनसुन ठाउँमा बाक्लो उपस्थितिको माझ त्यहाँ संसदीय प्रतिनिधिले आफ्नो भाषण सुरु गरे। "आदरणीय दाजुभाइ तथा दिदिबहिनी, बुबाआमालाई मेरो नमस्कार।गत वर्ष गएको विनाशकारी भूकम्पको कारण तपाईंहरुले निकै सास्ती बेहोर्नु परेकोमा म ज्यादै दुःखीत छु। पुनर्निर्माणका लागि तपाईहरुलाई सरकारको निरन्तर मद्दत मिल्नेछ र आउँदो केही महिनामै तपाईंहरु सबैजना आफ्ना नयाँ एवम् भूकम्प प्रतिरोधि भवनमा स्तानतरण गर्नुहुनेछ भन्ने आश्वासन म तपाईलाई दिन चाह्न्छु। बिचका दिनमा जेजस्तो भए तापनी यो नयाँ सरकार तपाईंको हितैषी हुनेमा विश्वस्त हुनुहोस्।अब तपाईका दु:खका दिन डाडाकाट्ने छन् किनकी पुनः निर्माणको सुरुवात आजैदेखी एउटा भूकम्प स्मारकको शिलान्यासबाट शुभारम्भ हुनेछ।आउँ सबै मिलि यस ऐतिहासिक निर्माणको सुरुवात गरौ।" हातमा कसैले सदरमुकामदेखि बोकिरहेको कुटो सभासदलाई दिइयो र केही माटो खोस्रेर त्यहाँ एउटो ईटा राखियो।सदरमुकामदेखि पसिना चुहाउदै आएका जन्तिको अनुहार एकाएक धपधप बलेसँगै तालीको गड्गडाहट सुनियो।निराशाले थिचेर थुचुक्क बसेका रामबहादुर अचानक जुरुक्क उठे र कहि हराएको मुस्कान अनुहारमा ल्याएर खुसीहुदै भने " अब चाहिँ घर पक्कै बन्ने भो "।
(माथी उदृत पात्र काल्पनिक हुन्, कसैको व्यक्तिगत जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।)
Comments
Post a Comment